सुताइले कुनैपनि मानिसको स्वास्थ्यमा सबैभन्दा ठूलो प्रभाव पारेको हुन्छ । तपाइँ कति समयसम्म सुत्नुहुन्छ र तपाइँलाई कत्तिको पर्याप्त निद्रा परेको छ भन्ने कुराले तपाइँको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ ।
पर्याप्त निद्रा लिनु आफ्नो सरीर तथा मस्तिष्कका लागि समेत फाइदाजनक रहेको कुरा त हामी सबैलाई थाहा छ तर निद्राको मात्रासँगै हामी कसरी सुत्दछौँ भन्ने कुराले पनि उत्तिकै महत्वपूर्ण हुने तथ्य भने थाहा नहुनसक्छ ।
एक पछिल्लो अध्ययनले उत्तानो वा घोप्टो परेर सुत्नुभन्दा कोल्टे परेर सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुने तथ्य पत्ता लगाएको छ । जर्नल अफ न्युरोसाइन्समा प्रकाशित शोध अनुसार कोल्टे परेर सुत्नाले मस्तिष्कका विकार सफा गर्न मद्धत गर्दछ ।
मानिसको मस्तिष्क सरीरको सबैभन्दा सक्रिय अंग हो । यसको सक्रियता सँगै यसमा दिनभरमा बेटा एमिलोइड तथा टाउ प्रोटिन जस्ता रसायन जम्मा हुन्छन् । यदि यस्ता हानिकारक रसायन मस्तिष्कबाट छिटै निस्कासन भएनन् भने त्यसले दीर्घकालीन नकारात्मक असर पूराउने जोखिम हुन्छ । यसलेे अल्जाइमर लगायतका स्नायुप्रणालीको ह्रास हुने विभिन्न समस्या निम्त्याउन सक्छ ।
अमेरिकी शोधकर्ताहरुले विभिन्न पोजिसनका सुताइहरुको प्रभावको विश्लेषण गरेका थिए । त्यसक्रममा उनीहरुले मस्तिष्कको फोहोर निस्काशन प्रणाली अर्थात् ग्लिम्फ्याटिक मार्गको अध्ययन गरे । सरीरको यो प्रणालीले विशेष अवस्थामा राम्रोसँग काम गर्ने गरेको पाइयो ।
मानिस ब्युँझिएको अवस्थामा भन्दा सुतेको अवस्थामा यो प्रणालीले बढि राम्रोसँग मस्तिष्कको फोहोर सफा गर्ने गर्छ । शोधकर्ताहरुले मुसामा गरेको यो अध्ययनका क्रममा मुसा उत्तानो पारेर, घोप्टो पारेर तथा कोल्टे पारेर सुतेको अवस्थामा मस्तिष्कको यो फोहोर निस्कासन प्रणालीको कार्यको अध्ययन गरे ।
त्यसक्रममा मुसा घोप्टो वा उत्तानो परेर सुतेको अवस्थामा भन्दा कोल्टे परेर सुतेको अवस्थामा उसको मस्तिष्कको फोहोर निस्कासन प्रणालीले बढि सक्रियतापूर्वक काम गरेको पाइयो ।
त्यसैले दिमागलाई ताजा तथा स्वस्थ राख्न चाहनुहुन्छ भने कोल्टे परेर सुत्नुहोस् । तर यसो गर्दा जिउको पोस्चरलाई भने ध्यान दिनुहोस् ।
No comments:
Post a Comment