महेन्द्र भुसाल
८ माघ, काठमाडौं । प्राकृतिक सौन्दर्यमा रमाउँदै पदयात्रा गर्न चाहनेका लागि उत्कृष्ट गन्तव्य हो, घान्द्रुक घोरेपानी । गगनचुम्वी हिमाल नियाल्दै घनाजंगलको बाटो भएर पुनहिल पुग्दा स्वर्गको टुक्रामा टेकेको अनुभूति हुन्छ ।
नजिकबाट हिमाली दृश्यावलोकनका लागि पुनहिल उत्कृष्ट मानिन्छ । वरिपरी घनाजंगल रहेको पुनहिल स्वदेशी-विदेशी पर्यटकबीच लोकप्रिय रहेको छ । छोटो पदयात्राका रुपमा परिचित घोरेपानी पुनहिलमा सिजनको बेला बिहानै ५ सय पर्यटक पुग्ने गर्छन् ।
तर, अहिले पुनहिल सुनसान देखिन्छ । दैनिक सयौं पर्यटक पुग्ने घोरेपानी पुनहिलमा अहिले मुस्किलले ४०/५० जना पर्यटक पुग्ने गर्छन् । भूकम्प, भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण पुनहिल पर्यटकबिहिन बन्न पुगेको हो ।
‘प्रकृतिक सुन्दरता दुरुस्तै छ, होटलहरु पाहुनालाई सेवा दिन तैयार छन्’ स्थानिय होटल व्यवसायीले भने, ‘तर पर्यटक छैनन् ।’
पोखराबाट नयाँपुल, लान्द्रुक, घान्द्रुक, घोरेपानी हुँदै पुनहिल भ्यू टावर पुग्न सकिन्छ । यहाँका हरेक स्थानबाट हिमाल देख्न सकिन्छ । खान-बस्नका लागि समेत राम्रो व्यवस्था रहेको छ ।
यो पदमार्गमा हिमाली दृश्यमात्र नभएर गुरुङ तथा मगर संस्कृतिको अनुभव बटुल्न समेत सकिन्छ । यो पदयात्रा तीन/चार दिनमा सम्पन्न हुन्छ ।
३ हजार दुई सय१० मिटर उचाइमा रहेको पुनहिलबाट मौसम सफा भएको बेलामा अन्नपूर्ण, धौलागिरी हिमाल पुरै देखिन्छ । यसको अलवा ब्राहपिक -बाह्र हिमालको कलेक्सन) अन्तर्गत पर्ने निलगिरी अन्नपूर्ण एक आकर्षक देखिन्छ । सबैभन्दा नजिकै देखिने ठूलो हिमाल अन्नपूर्ण साउथ हो । साथै, हिउँचुली, माछापुच्छ्रे हिमाल पनि देख्न सकिन्छ ।
अन्नपूर्ण साउथ ७ हजार २१९ मिटर, अन्नपूर्ण वान ८ हजार ९१ मिटर, माछापुच्छ्रे ६ हजार ९९३ मिटर अग्ला हिमाल हुन् । खासगरी धौलागिरीको दक्षिणतिरको भाग पुरै देख्न पाइन्छ ।
अन्य आकर्षणहरु
पदयात्रा रूटभित्र पर्ने घान्द्रुक गुरुङ गाउँ हो । यहाँ गुरुङ समुदायको म्युजियम समेत रहेको छ । स्थानिय लघु जलविद्युतका कारण घान्द्रुकमा लोडसेडिङ हुँदैन । यहाँ पुग्ने पर्यटकलार्इ यहाँको समुदाय र आमा समुहले जीवनभर नभुल्ने सत्कार टक्राउँछन् ।
यहाँ सञ्चालित होटल तथा लजहरु स्थानिय समाजले नियमित अनुगमन गर्ने हुँदा करिव करिव एउटै खालको मूल्य हुन्छ । ग्रामिण पर्यटनका लागि नमुना गाउँको रुपमा रहेको घान्द्रुकमा पर्यटकलाई सांस्कृतिक कार्यक्रम देखाइन्छ ।
यो पदमार्गमा अप्रिल मार्च महिनामा बाटैभरी गुराँस फुलेको देख्न पाइन्छ । घना जंगलमा रातै फुलेको गुराँस देख्दा सबैको मन प्रफुल्लित हुन्छ । पदमार्गमा टिपिकल नेपाली घरहरु देख्न पाइन्छ । कतिपय ठाउँमा घरमै होमस्टे सञ्चालन गरिएको छ ।
कसरी पुग्ने ?
काठमाडौंबाट आफ्नो निजी गाडी, सार्वजनिक बस वा प्लेनमा पोखरा पुग्न सकिन्छ । पोखराबाट डेढ दुई घण्टाको समयमा फोर हृवील गाडीबाट धम्पुस पुग्न सकिन्छ । अथवा सार्वजनिक गाडीमा जान चाहेमा धम्पुस फेदीसम्म गाडी चल्छन् ।
धम्पुसमा खान बस्नका लागि राम्रो सुविधा रहेको छ । यहाँबाट सुरु हुन्छ, घान्द्रुक, घोरेपानी पुनहिल यात्रा । धम्पुसबाट एक दिनमा लान्द्रुक पुग्न सकिन्छ । यहाँ हामीले एक दिन विताउन सकिन्छ ।
अर्को दिन लान्द्रुकबाट ४ घण्टा हिँडेर घान्द्रुक पुग्न सकिन्छ । यहाँ गुरुङ समुदायको म्यूजियम, गुरुङ सांस्कृतिक कार्यक्रम लगायतको मज्जा लिन एक रात बस्नुपर्छ ।
त्यसपछि विहान उठेर घान्द्रुकबाट राम्रोसँग हिड्न सक्ने मानिस करिव ८ घण्टामा घोरेपानी पुग्न सक्छन् । बालबच्चा र बुढाबुढी हिँड्न नसकेमा देउराली वा टाँडापानीमा बास बस्न गइन्छ । यहाँ पनि खानबस्नको राम्रो सुविधा रहेको छ । यहाँ बास बस्नेहरु अर्को दिन हिँडेर घोरेपानी पुग्न सक्छन् ।
घोरेपानी पुगेपछि करिव सवा एक घण्टामा पुनहिल भ्यू प्वाइन्छ पुगिन्छ । यहाँ पुग्दा विश्वकै सुन्दर ठाउँमा पुगेको अभाष हुन्छ । आँखै अगाडि सेता हिमाल, सूर्योदय हेर्नका लागि विहान ४ बजेदेखि नै पर्यटक पुनहिल पुगिसक्छन् । सूर्योदय हुँदा सेता हिमालहरू पनि सुनजस्तै टल्किन्छन् ।
पुनहिलबाट पुनः घोरेपानीमा फर्किएर खाना खान सकिन्छ । लामो समय विदा लिएर गएका पर्यटक घोरेपानीमै बस्न पनि सक्छन् । तर, छोटो समय भएका पर्यटक त्यसै दिन बिरेठाँटी फर्किएर गाडी चढी पोखरा फर्किन सक्छन् ।
पुनहिल पुग्ने यो सबैभन्दा चर्चित मार्ग हो । यसको अलवा अरू पदमार्गबाट पनि पुनहिल पुग्न सकिन्छ । पोखराबाट बिरठाँटी, उल्लेरी हुँदै घोरेपानी पनि पुग्न सकिन्छ । पुनहिल पुग्नका लागि सबैभन्दा छोटो बाटो यही हो ।
पुनहिल पुगेपछि देखिएका सुन्दर हिमालहरू
No comments:
Post a Comment