पुष्प दुलाल
२७ पुस, काठमाडौं । गत बैशाखमा गएको शक्तिशाली भूकम्पले ३८ जिल्लाका ९ सय १५ वटा गुम्बा भत्काएको छ । भत्किएका गुम्बाको पुनर्निर्माण गर्न सरकारसँग ८ अर्ब १३ करोड रुपैयाँ माग गरिएको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका उपसचिव मणिराज गुरुङले अनलाइनखबरलाई बताए ।
उपसचिव गुरुङका अनुसार देशभरका ६५ जिल्लामा २२ सय ६६ वटा गुम्बा समितिमा दर्ता भएका छन् । सबैभन्दा बढी गुम्वा सिन्धुपाल्चोकमा छन् । त्यहाँ २ सय १५ वटा गुम्बा छन् । तीमध्ये भूकम्पले १ सय २९ वटा गुम्बामा भूकम्पबाट क्षति पुगेको छ ।
बुद्धिष्ट परम्पराअनुसार, ध्यान, शिक्षा, पाठ र पूजा गर्ने ठाउँ नै गुम्बा हो, जहाँ लामा तथा आनीहरु बस्छन् । बुद्ध धर्मका बारेमा जानकारी लिन चाहने पर्यटकहरुको रोजाइमा पर्ने देश हो, नेपाल । यहाँका गुम्बाहरु हेर्न चीन, कोरिया, श्रीलंका, थाइल्याण्ड, जापान, भुटानलगायतका देशबाट प्रत्येक वर्ष ठूलो संख्यामा पर्यटकहरु आउँछन् ।
भूकम्पले भत्काएका गुम्बाहरु सार्वजनिक सम्पत्ति मात्रै नभएर पर्यटकीय महत्व बोकेका बहुमूल्य सम्पत्ति भएकाले यसको पुनर्निर्माणमा सरकारले विषेश प्राथमिकता दिनुपर्ने बुद्ध धर्मावलम्बीहरुको जोड छ ।
कुन जिल्लाका कति भत्किए ?
सिन्धुपाल्चोकका १ सय २९, दोलखाका ९९, सोलुखुम्बुका, नुवाकोट र मकवानपुरका ८८ वटा गुम्बाको पुननिर्माण गर्न माग भएको छ । त्यसैगरी, गोर्खाका ८२, सिन्धुलीका ५४, काभ्रेका ५३, धादिङका ५० र रामेछापका ४७ वटा गुम्बाको पुननिर्माणका लागि आवेदन परेको छ ।
त्यस्तै, रसुवाका ३६, चितवनका १२, काठमाडौंका ११, खोटाङका १०, तनहुँका १०, भोजपुरका ७, हुम्ला र डोल्पाका ५ वटा गुम्बालाई भुकम्पले क्षतिग्रस्त बनाएको छ । त्यसैगरी ललितपुर, संखुवासभा, मनाङ, मुस्ताङका ४/४ वटा, मोरङमा ३ वटा, भक्तपुर, धनकुटा, तेह्रथुम र सुर्खेतका २/२ वटा गुम्बा भत्एिका छन् । त्यस्तै, उदयपुर, महोत्तरी, धनुषा, रौतहट, बारा नवलपरासी, बागलुङ, रुपन्देही, कास्की र बाजुराका १/१ वटा गुम्बालाई भुकम्पले भत्काएको छ ।
फोटो, गाविस सचिव, जिबीस, प्रहरी रिपोर्टलगायतका आधारमा ४० प्रतिशत गुम्बाहरु पूर्णरुपमा क्षति भएको देखिएको उपसचिव गुरुङले बताए । ‘भूकम्पले अति प्रभावित प्रभावित १४ जिल्लामामात्रै ७ सय ३४ वटा क्षतिग्रस्त गुम्बा छन्,’ उनले भने- ‘जुन पुननिर्माणका लागि परेको आवेदनको ८० प्रतिशत हो ।’
विकास समितिले लाइनमिस्ट्री स्थानीय विकास मन्त्तालयलाई २/३ पटक पुननिर्माणका लागि बजेट मागेको उपसचिव गुरुङले बताए । तर, स्थानीय विकास मन्त्रालयले भने गुम्बा विकासका लागि आफूले सीधै बजेट दिन नसक्ने बताएको छ । ‘अहिलेसम्म स्थानीय विकास मन्त्रालयले हामीलाई बजेट दिएको छैन,’ उनले भने ।
त्यसैगरी, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगमा पनि १/१ पटक पुननिर्माणका लागि बजेट माग गरेको उनले बताए ।
| जिल्ला | भूकम्पले भत्काएका गुम्बाको संख्या |
|---|---|
| सिन्धुपाल्चोक | १२९ |
| दोलखा | ९९ |
| सोलुखुम्बु | ९५ |
| नुवाकोट | ८८ |
| मकवानपुर | ८८ |
| गोर्खा | ८२ |
| सिन्धुली | ५४ |
| काभ्रे | ५३ |
| धादिङ | ५० |
| रामेछाप | ४७ |
| रसुवा | ३६ |
| चितवन | १२ |
| काठमाडौं | ११ |
| खोटाङ | १० |
| तनहुँ | १० |
| भोजपुर | ७ |
| हुम्ला | ५ |
| डोल्पा | ५ |
| ललितपुर | ४ |
| संखुवासभा | ४ |
| लमजुङ | ४ |
| मुस्ताङ | ४ |
| मोरङ | ३ |
| भक्तपुर | २ |
| धनकुटा | २ |
| तेह्रथुम | २ |
| सुर्खेत | २ |
| उदयपुर | १ |
| महोत्तरी | १ |
| धनुषा | १ |
| रौतहट | १ |
| बारा | १ |
| नवलपरासी | १ |
| बागलुङ | १ |
| रुपन्देही | १ |
| कास्की | १ |
| बाजुरा | १ |

No comments:
Post a Comment